Skip to main content

To the one who turned stranger

प्रश्न मित्रताको


साथी;
सुन्दै मन प्रफुल्लित हुने यो शब्द , कठिन अवस्थाको आश्रय यो शब्द, जीवनमा एक्लोपनको आभास हटाइदिने यो शब्द, गन्तव्यको सहयात्री यो शब्द, विश्वासको पात्र यो शब्द, स्मृतिको भेल यो शब्द । खै ? कुन शब्दले यो साथी शब्दको बयान गरु? यो शब्द यति विशेष छ कि यो शब्दको जति बयान गरे पनि म थकित हुने छैन ।
सोच्नुस् त शब्दले नै यति श्रेष्ठता बोध गर्दछ भने यो शब्दको पछाडि जो व्यक्ति छ उसको तपाईंको जीवनमा कति महत्त्व होला । तर मलाई कहिले काँही डर लाग्छ यो शब्दबाट । यो पनि बत्ती मुनिको अँध्यारो जस्तै हो कि । प्रश्न उठ्छ "असलमा मेरो साथी को हो ?" सोच्ने गर्छु साथी भनिएका जो जति व्यक्तिहरू छन् के साँच्चै तिनीहरू मेरा साथी हुन् र? कतै मैले आफ्नै खुट्टामा बन्चरो हनिराको त छैन? सोच्छु, आफैलाई प्रश्न गर्छु "एउटा अपरिचित व्यक्ति केही क्षणको वाक्य आदन प्रदान गर्दैमा मित्र हुन्छन्?" यदि यसो हो भने म जीवनमा साथीको कल्पना समेत गर्दिनँ ।
कति सोजो छौँ है हामी । साथी शब्द मै साथ छ तर पनि यात्राको क्रममा दुई वाक्य साट्दैमा उसलाई हामी साथी भन्छौँ । के साथ दुई वाक्यको हो र ? सधैँ आफ्नो लागि मात्र सोच्ने हामी आफूभन्दा सम्पन्न व्यक्ति देख्दा साथी बनाउन पाए हुन्थ्यो भन्ने सोच्छौँ । के साथ फाइदा हेरेर दिइन्छ? अझै गल्ती गर्दै छौँ हामी । कक्षाकोठामा सँगै बसेर पढ्ने हरेकलाई हामी साथी भन्छौँ । सोच्नुस् के साच्चै एउटै कोठामा बसेर पढ्दैमा साथी हुन्छौँ? इन्टरनेट र सामाजिक सञ्जालमा भेटेको व्यक्ति साथी, आफ्नो साथीको साथी पनि साथी, काम गर्ने कार्यालय वा स्थानमा उपस्थित सबै साथी, आफ्नो प्रशंसा गर्ने व्यक्ति साथी, आफ्नो गल्तीमा औँला नदेखाउने व्यक्ति साथी, यसरी त तपाईंको कति साथी छन् जिन्दगीमा । साथी भनिएकै कतिले छोडे र फेरि कति आए ।
अब तपाईंहरू सोच्दै हुनुहुन्छ होला "यसरी त मेरा सबै साथीहरु साथी नै होइनन् । के मेरो जीवनमा साथी छैनन् र?" तर त्यो सोच पनि गलत हो । मैले पनि मेरो जीवनमा तपाईंहरू जस्तै धेरैलाई साथीको पद दिए तर थोरैलाई त्यस पदको सम्मान । त्यसैले तपाईंको साथी ऊ हो जसलाई तपाईं साथी पनि भन्नु हुन्छ र त्यस पदको सम्मान पनि दिनुहुन्छ । आफै विचार गर्नुहोस् एउटै कक्षामा पढ्ने सबैलाई साथी भन्नु हुन्छ तर सबैलाई समान सम्मान दिनु हुन्न । कुनै एक (वा बढी) व्यक्तिलाई आफ्नो नजिकको मित्र बनाउनु हुन्छ । त्यसैले अब साथीको पद कसैलाई दिनु हुन्छ भने उसलाई सम्मान पनि दिनुहोस्
असल मित्र को हो? मित्रता कस्तो हुनु पर्दछ? के धेरै पछि भेटेको साथी पनि साथी हो? यस्ता सबै प्रश्नको उत्तर हजुरहरुले विभिन्न मान्छेबाट विभिन्न उत्तर पाउनुहुनेछ । तर आज म आफ्नो विचारमा मित्रता के हो, कस्तो हो भन्न गैरहेको छु । सायद हजुर र मेरो विचार नमिल्न सक्छन् तर एकपटक ख्याला गर्दिनुहोला ।
मेरो पछाडि अरूले कुरा काट्दा त्यसको विरोध गर्नु नै मित्रता होला । मेरो गल्तीलाई औँलाउनु र सही बाटोमा हिँड्न सिकाउनु नै मित्रता होला । म निस्तब्ध हुँदा मेरो मुहारमा अंकित भावनालाई बुझ्नु नै मित्रता होला । मेरो आफ्नै परिवार पछि मेरो सबैभन्दा बढी चिन्ता हुनु, हरेक ईच्छा, चाहनाको कदर गर्नु नै मित्रता होला । विद्यालयमा शिक्षकले हाम्रो स्थान परिवर्तन गर्दा फेरि शिक्षकलाई सँगै बस्न अनुरोध गर्नु नै मित्रता होला । जीवनको रमाइलो क्षणहरु सँगै सिर्जना गर्नु मित्रता होला । आफ्नो अन्तस्करण बाट सिर्जित भएका भावना कसलाई निर्धक्क खोल्न सक्नु मित्रता होला । सबै जना मेरो विरुद्धमा हुँदा मलाई बुझेर मसँगै उभिनु मित्रता होला । मेरो हारमा अरू हाँस्दा सहयोगको हात बढाउनु मित्रता होला । आफूले भनेको हरेक मनपर्ने र मन नपर्ने कुरा, स्वभाव, आचरण आदिको ख्याल गर्नु मित्रता होला । धेरैपछि भेटेपछि पनि सम्बन्धमा तनाव नआउनु मित्रता होला ।
समयको प्रतिबन्ध नभई आफूले कुनै पनि बखत सहयोग माग्दा सधैँ सहयोगको लागि तयार हुनु मित्रता होला ।
यसरी मित्रता बारे कति प्रश्नहरु छन् र हरेक व्यक्ति अनुसार आ-आफ्नो उत्तर । कति प्रश्नका उत्तर भने ओझेल मै छन् । तर मेरो विचारमा मित्रतामा कुनै प्रश्न हुँदैन । हुन्छ त केवल विश्वास, भरोसा, आत्मीयता, सहिष्णुता, भातृत्व र भग्नित्वको भाव, प्रतिबद्धता, एकता र सदभाव । मित्रता भनेको नभनिएको प्रतिबद्धता हो, रगतको सम्बन्ध नभएनी आत्माको सम्बन्ध हो र लँगडोको लागि बैसाखीको जस्तो सम्बन्ध हो । जब हामी कुनै मित्रतामा बाँधिन पुग्छौँ तब हाम्रो शब्दकोषबाट एक्लोपन हराएर फूलको माला थपिन्छ । मित्रता त्यति सजिलो छैन न त्यति कठिन । तर याद राख्नुहोस्, जब तपाईंले विश्वास गरेर मित्र भन्नुभएको व्यक्तिले साथ छोडेर जान्छ नी, त्यसपछि तपाईंलाई मित्रता शब्दबाट पनि डर लाग्ने छ । त्यसैले तपाईंले कसलाई साथी बनाउनु हुन्छ, तपाईंको हातमा छ । प्रकाश दिने दीप लाई पनि अन्धकार छँदै निभाउने आजको संसारमा असल मित्र पाउन धेरै गाह्रो छ । यदि पाउनु भएको छ भने त्यो मित्रताको दीप लाई कहिलै अन्धकारको सहयात्री हुन नदिनु ।

CLICK HERE TO FOLLOW

Comments

Post a Comment