मुहरबाट मुस्कान हरायो, आँखाबाट चमक
झ्यालबाट बाहिर हेर्दा देख्छु सुनसान सडक ।
घरको भित्तासँग बोल्छु, मनको कुरा खोल्छु
सधैँ एकान्तमा बस्छु, मौनतालाई अँगाल्छु ।।
रातको निद्रा हरायो, दिनको उज्यालो
विपनी त होइन सपनी राम्रो लाग्न थाल्यो ।
जितमा रमाउन छोडे अनि पीडामा रुन
खै किन हो खुसीले सकेको छैन छुन ।।
सबै मित्रहरू हराए, साथदिने हात
जीवनको गोरेटोमा छैन कसैको साथ ।
कलाको कदर छैन, मौलिकताको सम्मान
कति बाँच्नु सहेर व्यथा अनि अपमान ।।
जीवनको ऊर्जा हरायो, गन्तव्यको ठेगाना
मुटुको मुटुमै सज्यो मेरो सबै चाहना ।
जन्मेदेखि लड्दै छु, बाँच्नको लागि सङ्घर्ष
विश्वास छ यो कठिन समय छिटै कट्छ ।।
Comments
Post a Comment